काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ः२५ बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२ नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र ३१ वर्षीया मिजरा बुढा रहेका छन्। त्यसैगरी हुम्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मर सिंह बुढा, २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंग सिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा पनि घाइते भएका छन्।
प्रहरीका अनुसार सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




















