महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका १४ महिला सकुशल परिवारको सम्पर्कमा आएका छन्। जंगलमा बाटो बिराएपछि रातभर निकुञ्जमै बसेका उनीहरू सोमबार मध्याह्न आफैं घर फर्किएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन्।
भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार महिलाहरू सोमबार दिउँसो करिब १२ः१५ बजे परिवारको सम्पर्कमा आएका हुन्। उनका अनुसार च्याउ टिप्ने क्रममा निकुञ्जको भित्री क्षेत्रमा पुगेपछि उनीहरू बाटो बिराएका थिए। रातभर जंगलमै बसेका उनीहरू बिहान बाटो भेटेपछि सुरक्षित रूपमा घर फर्किएका हुन्।
सम्पर्कविहीन हुनेमा दशरथ टोलका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार रहेका थिए।
उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट आइतबार बिहान करिब ११ बजे नौ र पाँच जनाको दुई समूहमा च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए। साँझसम्म घर नफर्किएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए भने त्यसपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, निकुञ्ज प्रशासन, नगर प्रहरी तथा स्थानीयवासीको संयुक्त टोलीले रातिदेखि नै खोजी अभियान सञ्चालन गरेको थियो।
संयुक्त टोलीले खोजी गरिरहेका बेला महिलाहरू आफैं सुरक्षित रूपमा घर पुगेका हुन्। उनीहरूको स्वास्थ्य अवस्था तथा घटनाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारीसहितको टोली पनि भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ।
यसैबीच, आइतबार साँझदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सम्पर्कविहीन भएका बेल्डाँडी गाउँपालिका–२ का तीन जना महिलालाई पनि नेपाली सेनाले सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको जनाएको छ।




















