जनकपुरधाम । नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई बेवास्ता वा दबाएर अघि बढ्ने सरकार दीर्घकालीन रूपमा सफल हुन नसक्ने बताएका छन्। उनले लोकतान्त्रिक प्रणालीमा सरकार र प्रतिपक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबै दललाई समेटेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै महासेठले वर्तमान सरकार गठन भएको करिब चार महिना पुग्न लाग्दासमेत अपेक्षाअनुसार प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरे। उनले लोकतान्त्रिक सरकारको सफलता प्रतिपक्षसँगको संवाद र सहकार्यमा निर्भर रहने बताए।
‘देश कुनै पार्टीको निजी सम्पत्ति होइन, सार्वभौमसत्ता जनतामा निहित छ। त्यसैले सरकारले सबै राजनीतिक दलसँग सहकार्य गर्दै जनहितलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने।
महासेठले सरकारले शिक्षा, स्वास्थ्य र घरजग्गा कारोबारमा लागू गरेको नयाँ कर व्यवस्थाको पनि आलोचना गरे। साउन १ गतेदेखि लागू भएको जग्गा खरिद–बिक्रीमा दुवै पक्षबाट कर असुल्ने व्यवस्था तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा थपिएको करले सर्वसाधारणमाथि आर्थिक भार बढाएको उनको भनाइ थियो।
जनताको आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रमा थप आर्थिक बोझ थोपर्नु उचित नभएको उल्लेख गर्दै उनले सरकारलाई यस्ता निर्णय पुनर्विचार गर्न आग्रह गरे।
मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको जनमतबारे टिप्पणी गर्दै महासेठले जनताको विश्वासअनुसार काम गर्नु रास्वपाको दायित्व भएको बताए। जनताले विश्वासका आधारमा मत दिएको उल्लेख गर्दै उनले अपेक्षाअनुसार काम नभए त्यो विश्वास गुम्न सक्ने चेतावनी दिए।
उपमहासचिव महासेठले निजी क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डको संज्ञा दिँदै आर्थिक विकास र रोजगारी सिर्जनामा यसको भूमिका महत्वपूर्ण रहेको बताए। साथै, विश्व अर्थतन्त्रमा देखिएका चुनौती, विशेषगरी इरान–इजरायल द्वन्द्व र बढ्दो महँगीको असर नेपालमा पनि परिरहेको उल्लेख गर्दै अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए।




















