काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता सिंहदरबारमा जारी छ। वार्ता सफल भए आजै लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य रहेका छन्।
मिटरब्याज पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी सदस्य छन्।
यसअघि बिहीबार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी टोली र पीडित पक्षबीच सघन छलफल भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार त्यस छलफलमा भएका सहमतिलाई आधार बनाएर आज अन्तिम सहमति जुटाउने र लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ।




















