कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रस्तावसँगै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ।
बिहीबार विपक्षी दल नेकपा (माओवादी केन्द्र)का ११ जना र नेपाली कांग्रेसका पाँच जना गरी १६ प्रदेशसभा सदस्यले नेपालको संविधानको धारा १८८ को उपधारा (४) र (५) बमोजिम प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा दर्ता भएको उक्त प्रस्तावसँगै जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
यसअघि बुधबार सत्ता साझेदार नेपाली कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारमा सहभागी आफ्ना चार जना मन्त्रीको राजीनामा बुझाएको थियो। त्यसबेला कांग्रेसले सरकारलाई दिएको समर्थन भने औपचारिक रूपमा फिर्ता लिएको थिएन।
बिहीबार भने कांग्रेसका पाँच जना प्रदेशसभा सदस्य विपक्षी नेकपा (माओवादी केन्द्र)सँग मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक कृष्णबहादुर जिसीले अविश्वासको प्रस्ताव दर्ता भएको पुष्टि गरेका छन् ।
अब प्रदेशसभाको कार्यसूचीअनुसार उक्त प्रस्तावमाथि छलफल र मतदान हुनेछ। प्रस्ताव बहुमतबाट पारित भएमा मुख्यमन्त्री यामलाल कँडेल पदमुक्त हुनेछन् भने प्रस्तावित उम्मेदवार जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।



















