जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ। अन्य प्रदेशमा कांग्रेस–एमालेबीचको गठबन्धन फेरबदल हुने संकेत देखिए पनि त्यसको प्रभाव तत्काल मधेश प्रदेशमा नपर्ने गठबन्धनमा आबद्ध दलका नेताहरूले बताएका छन्।
मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार रहेको छ। सरकारमा कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहभागी छन्।
अन्य प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका बीच मधेशमा भने तीनै दलका शीर्ष नेताहरूले बैठक बसेर गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल गरेका छन्। छलफलमा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव तथा अर्थमन्त्री एवं नेकपा संसदीय दलका नेता युवराज भट्टराई सहभागी थिए।
गत जेठ १२ गते सरकार विस्तारअघि तीन दलबीच चुनावसम्म गठबन्धन कायम राख्ने लगायतका १५ बुँदे सहमति भएको स्मरण गराउँदै नेताहरूले सोही सहमतिअनुसार सरकार अघि बढ्ने बताएका छन्।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेशस्तरमा गठबन्धन दलहरूबीच कुनै विवाद नरहेको उल्लेख गर्दै सरकारलाई दिएको समर्थन यथावत् रहने बताए।
उनले संघीय लोकतान्त्रिक व्यवस्थामा केन्द्र र प्रदेशमा फरक–फरक राजनीतिक समीकरण हुन सक्ने अभ्यास नेपालमा यसअघि पनि भइसकेको भन्दै मधेशको गठबन्धन चुनावसम्म कायम रहने दाबी गरे।
अर्थमन्त्री तथा नेकपा संसदीय दलका नेता युवराज भट्टराईले पनि मधेश प्रदेश सरकार विशेष राजनीतिक सहमतिका आधारमा बनेको उल्लेख गर्दै अन्य प्रदेशको राजनीतिक परिवर्तनले यस सरकारलाई असर नगर्ने बताए। उनले हालै प्रदेशको बजेट सर्वसम्मत रूपमा पारित भएकाले सरकारलाई स्थायित्वका साथ अघि बढाउने विषयमा तीन दलबीच सहमति भएको जानकारी दिए।
मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादव गत मंसिर १९ गते कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा, नेकपा (एमाले) र नेकपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।



















