धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले)का मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।
सरकारमा रहने वा बाहिरिने विषयमा तत्काल निर्णय गर्न मुख्यमन्त्री शाहले यसअघि एमालेलाई आग्रह गरेका थिए। त्यसपछि एमाले नेतृत्व आन्तरिक छलफलमा जुटेको थियो। मुख्यमन्त्री शाह पनि एमालेको समर्थन नरहेमा अपनाउने रणनीतिबारे परामर्शमा रहेका थिए।
एमालेले सरकारलाई निरन्तर साथ नदिने संकेत पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।
कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३/८४ को प्रदेश बजेटलाई लिएर लामो समयदेखि मतभेद देखिएको थियो। एमालेले बजेटमा खर्च कटौती गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो। प्रतिपक्षी नेकपाले पनि खर्च कटौतीसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ।
मुख्यमन्त्री शाहले खर्च कटौतीको प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि एमाले त्यसमा सहमत भएको थिएन। सत्ता साझेदार दलबीचको यही विवादका कारण असार मसान्तभित्र अनिवार्य रूपमा बजेट पारित गर्नुपर्ने संवैधानिक दायित्व पूरा गर्न सरकारमाथि दबाब बढेको थियो।
एमालेका मन्त्रीहरूको बर्खास्तीसँगै सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण नयाँ मोडमा पुगेको छ।




















