काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङ प्रणालीमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै करार कर्मचारीहरूले दोस्रो दिन पनि सिंहदरबारमा धर्ना दिएका छन्।
१८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले बुधबार पनि काम छाडेर सिंहदरबार परिसरमा विरोध प्रदर्शन गरेका हुन्।
आन्दोलनरत कर्मचारीहरूले सरकारको तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने दाबी गरेका छन्। उनीहरूले आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय तत्काल फिर्ता लिन र करार कर्मचारीको सेवाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।
करार कर्मचारीहरू मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले आफ्ना मागप्रति सरकार गम्भीर नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।




















