काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले बिहान ८ बजे सूचना जारी गर्दै बिहानैदेखि डोजरसहितका मेसिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएपछि सडकमा दुईतर्फी सवारी आवागमन सुचारु गरिएको जनाएको छ।
कार्यालयले चालकहरूलाई लेन अनुशासन कायम राख्दै सीमित गतिमा सवारी चलाउन आग्रह गरेको छ। निरन्तर वर्षाका कारण सडकमा पुनः पहिरो खस्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।
अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो खसेका कारण सोमबार साँझदेखि मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो हटाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढ्न थालेका छन्।




















