काठमाडौं । रोशी खोलामा पानीको सतह घटेसँगै हिजो दिउँसोदेखि अवरुद्ध रहेको बीपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
खोलामा पानीको बहाव बढेपछि यात्रुको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले राजमार्गमा सवारी आवागमन रोकाएको थियो। पानीको सतह घटेपछि सडकको अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि सवारी सञ्चालनको अनुमति दिइएको हो।
राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका लामो तथा छोटो दूरीका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन्। प्रहरीले यात्रु तथा चालकलाई सतर्कता अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
गत वर्ष रोशी खोलामा आएको बाढीले बीपी राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएको थियो। क्षतिग्रस्त सडकको पुनर्निर्माण कार्य अझै जारी रहेको छ। हाल अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन भइरहेको छ।
प्रहरीका अनुसार अस्थायी डाइभर्सन प्रयोग भइरहेकाले खोलामा पानीको बहाव बढ्नेबित्तिकै सुरक्षाका कारण आवागमन रोक्नुपर्ने अवस्था आउने गरेको छ। वर्षायाममा रोशी खोलाको जलस्तर जुनसुकै बेला बढ्न सक्ने भएकाले यात्रा अघि सडकको पछिल्लो अवस्था बुझ्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।




















