चितवन । निरन्तरको वर्षापछि चितवनको भरतपुर महानगरपालिका–११ का विभिन्न बस्ती डुबानमा परेका छन्। गोर्खाली टोल, मृगकुञ्जलगायतका क्षेत्र जलमग्न भएपछि स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ।
स्थानीयवासी कपडा माथि सारेर पानीबीच आवतजावत गर्न बाध्य भएका छन् भने धेरै घरभित्र पानी पसेपछि जीवन कष्टकर बनेको छ। सडकमा घुँडासम्म पानी जमेको देखिन्छ।
स्थानीयका अनुसार वर्षायाममा पानीको उचित निकास नहुँदा भरतपुरका विभिन्न बस्ती हरेक वर्ष डुबानमा पर्ने गरेका छन्। साइफन बन्द हुनु, जथाभावी प्लटिङका कारण कुलो पुरिनु, नालीको व्यवस्था नगरी सडक निर्माण गर्नु तथा भएका नालीसमेत नियमित सफा नगर्नुले डुबानको समस्या झन् गम्भीर बन्दै गएको उनीहरूको भनाइ छ।
स्थानीयवासीले दीर्घकालीन रूपमा पानी निकासको प्रभावकारी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।




















