काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाहको प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।
गत शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो। अस्पतालका मेडिकल डाइरेक्टर डा. किरण नकर्मीका अनुसार उनको आज बिहान २:०५ बजे आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको हो।
शुक्रबार साँझ करिब ७:३० बजे अस्पताल भर्ना गरिएका मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग जलेको थियो। गम्भीर अवस्थामा रहेका उनको चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ।
प्राप्त जानकारीअनुसार मण्डलले शुक्रबार घरबाट करिब २०० मिटर टाढा पुगेर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। घटनापछि उनलाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको थियो।
परिवार स्रोतका अनुसार विवेक विज्ञान विषयमा स्नातकोत्तर (एमएससी) उत्तीर्ण थिए । उनले २०७९ सालदेखि महोत्तरीको गौशाला नगरपालिका –१ स्थित श्री माध्यमिक विद्यालय रामनगरमा करार शिक्षकका रूपमा करिब तीन वर्ष अध्यापन गरेका थिए । गत साउनमा जागिर छाडेपछि उनी घर फर्किएका थिए ।
विवेकका बुवा उपेन्द्र मण्डलका अनुसार शिक्षकको जागिर छोडेपछि उनी पछिल्लो समय रोजगारी नपाउँदा चिन्तित रहने गरेका थिए । जागिर छाडेपछि धेरै ठाउँमा आवेदन दिँदा लिखित परीक्षामा राम्रो अंक ल्याए पनि अन्तर्वार्तामा फेल हुन गरेको सुनाउँदै विवेकका बुबा उपेन्द्रले भनेका छन्, ‘‘पढाइका क्रममा भएको खर्च र परिवारको आर्थिक अवस्था सुधार्ने चिन्ता उसलाई सधैं भइरहन्थ्यो ।’
पछिल्ला केही दिनयता आत्मदाहका घटनाहरू बढ्दै गएका छन्। बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए। उनको पनि उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार निधन भएको थियो। त्यसपछि शनिबार काठमाडौंको बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । ५० प्रतिशतभन्दा बढी जलेका उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।




















