काठमाडौं । कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालयअगाडि शंकास्पद रूपमा पार्क गरिएका सवारीसाधन हटाउन प्रहरीले क्रेनसहित टोली परिचालन गरेको छ। घटनाबारे अनुसन्धान पनि सुरु गरिएको प्रहरीले जनाएको छ।
सोमबार बिहान पत्रकारहरू कार्यालय पुग्ने समयमा ती सञ्चारगृहका प्रवेशद्वार अवरुद्ध हुने गरी निजी नम्बर प्लेटका गाडी पार्किङ गरिएका थिए। यसका कारण पत्रकार तथा कर्मचारीको आवतजावत प्रभावित भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० पवन भट्टराईका अनुसार गाडीमा ह्विललक लगाइसकिएको छ भने क्रेनमार्फत हटाउने प्रक्रिया अघि बढाइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए।
यसैबीच, नेपाल पत्रकार महासंघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध पुर्याइएको र त्रास सिर्जना गरिएको उल्लेख छ।

महासंघले अविलम्ब अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
नयाँबानेश्वरस्थित अनलाइनखबर, मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन तथा तीनकुनेस्थित कान्तिपुर पब्लिकेसनका कार्यालयअगाडि गाडी पार्क गरिएका थिए। साथै, अनामनगरस्थित भाटभटेनी नजिक मुख्य सडकमा पनि एउटा गाडी रोकिँदा केही समय ट्राफिक जामसमेत भएको थियो।

घटनापछि प्रभावित सञ्चारगृहका पत्रकारहरूले कार्यालय प्रवेशमा अवरोध हुनुका साथै मनोवैज्ञानिक त्राससमेत सिर्जना भएको बताएका छन्।
गाडी कसले र किन पार्क गर्यो भन्ने विषय हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ।

महानगरिय प्रहरीले मोटरसाइकलमा ह्वीललक गर्दा गणेश नेपालीले आत्मदाह गरेका थिए । त्यस घटनापछि मिडियाहरुले ट्राफिक व्यवस्थापन, जरिवाना र प्रहरीको कार्यशैलीसम्बन्धी समाचार प्रकाशित गरेका थिए । यद्यपि, ती समाचार र गाडी पार्किङ घटनाबीच कुनै सम्बन्ध रहेको भन्ने विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।





















