काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी कुटपिट गरेको आरोप लगाउँदै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
त्रिवि शिक्षण अस्पतालबाट सोमबार सार्वजनिक गरेको वक्तव्यमा अन्सारीले सबै सम्बन्धित सरकारी निकाय, संघीय संसदका सदस्य, प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकसँग आफ्नो सुरक्षा सुनिश्चित गरिदिन अपिल गरेका छन्।
कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा शनिबार पुगेका अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीको कुटपिटबाट घाइते भएका उनी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
कानून व्यवसायी समेत रहेका अन्सारीले आफूलाई पक्राउ गर्नुको कारण अहिलेसम्म नबताइएको, पक्राउ पुर्जी नदेखाइएको तथा पक्राउको कानुनी आधारबारे कुनै स्पष्ट जानकारी नदिइएको दाबी गरेका छन्। उनले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग आफूलाई पक्राउ गर्नुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्न पनि माग गरेका छन्।
उनका अनुसार आफू मानव अधिकार आयोगको रोहबरमा मात्रै अस्पतालबाट जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनेछन्। अन्यथा जबरजस्ती लैजाने प्रयास स्वीकार नगर्ने उनको भनाइ छ।
यता, अन्सारीलाई गैरकानुनी रूपमा पक्राउ गरी दबाब दिइएको सूचना प्राप्त भएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली अस्पतालतर्फ गएको जनाइएको छ। साथै, अस्पतालमा उपचाररत अन्सारीको निगरानीमा सादा पोशाकका प्रहरी खटाइएको र बिहानसम्म पनि प्रहरी उनको बेड नजिकै रहेको अन्य जेनजी अभियन्ताहरूले बताएका छन्।
यस विषयमा अन्सारीले लगाएका आरोपबारे भने नेपाल प्रहरी वा गृह मन्त्रालयले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।




















