काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले एक १२ चक्के ट्रक बगाएको छ। ट्रक चालक भने पौडिएर बाहिर निस्कँदै सकुशल ज्यान जोगाउन सफल भएका छन्।
सोमबार बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरी फर्किरहेको ना ७ ख ७६५ नम्बरको ट्रक खोलाले बगाएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार खोला तर्न ह्युमपाइप राखेर बनाइएको कल्भर्टमाथि पानीको बहाव अत्यधिक बढेपछि ट्रक बगाएको हो।
बाढीमा परेका ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङले पौडिएर सुरक्षित रूपमा बाहिर निस्किएका छन्। घटनामा उनको खुट्टामा सामान्य चोट लागेको छ। हाल हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित एक मेडिकलमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीले बगाएको ट्रकलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको छ।




















