काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित सरकारका ६ जना मन्त्रीले आइतबार भक्तपुरको खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन्।
गृहमन्त्री गुरुङसँगै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीता वादी, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोख्रेल र श्रममन्त्री रामजी यादवले होल्डिङ सेन्टर पुगेर त्यहाँ रहेका सुकुमवासीको अवस्था बुझेका हुन्।
शनिबार अविरल वर्षापछि कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुमवासीलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो।
अवलोकनका क्रममा भूमिमन्त्री प्रतिभा रावलले सुकुमवासी समस्याको दीर्घकालीन र कानुनसम्मत समाधान गर्ने सरकारको प्रतिबद्धता दोहोर्याइन्। उनले सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) उपलब्ध गराइने बताउँदै प्रक्रिया कानुनी आधारमा अघि बढाइने स्पष्ट पारिन्।
‘हचुवाको भरमा लालपुर्जा दिने होइन। भोलि तपाईंहरूको पुस्तौँसम्म कसैले औँला उठाउन नसक्ने गरी नेपाल सरकारले काम गरिरहेको छ। नतिजामुखी कामका लागि समय लाग्छ, तर यो काम दिगो हुनेछ,’ मन्त्री रावलले सुकुमवासीलाई सम्बोधन गर्दै भनिन्।
सरकारले सुकुमवासीको पुनर्स्थापना र भूमि व्यवस्थापनलाई दिगो तथा विवादरहित बनाउने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्री रावलको भनाइ थियो।




















