काठमाडौं । गणेश नेपालीको आत्मदाह घटनाका सम्बन्धमा सोधपुछका लागि बोलाइएका सबै व्यक्तिलाई प्रहरीले सोही दिन रिहा गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार घटनाका सम्बन्धमा कसैलाई पक्राउ नगरिएको, आवश्यक सोधपुछका लागि मात्र बोलाइएको थियो।
‘हामीले कसैलाई पक्राउ गरेका थिएनौँ। सोधपुछका लागि बोलाएका थियौँ। आवश्यक काम सकिएपछि शुक्रबार नै सबैलाई छाडिएको हो,’ भट्टराईले बताए।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीले गणेश नेपालीको मोटरसाइकलमा ‘ह्वीललक’ लगाएपछि भएको विवादका क्रममा उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उपचारका क्रममा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो।
घटनापछि प्रहरीले सोधपुछका लागि महानगर प्रहरीका कर्मचारी तथा घटनाका प्रत्यक्षदर्शीलाई बोलाएर बयान लिएको थियो। आवश्यक विवरण र कागजात संकलन गरेपछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ।
यस घटनाको छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।




















