काठमाडौं । सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता, भू–स्वामित्वसहितको आवास अधिकार तथा सम्मानजनक बसोबासको माग गर्दै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले सुरक्षित पुनर्स्थापना नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन सरकारसँग माग गरेका छन्। उनीहरूले गास, बास र कपासको प्रत्याभूति गर्दै संविधानले सुनिश्चित गरेको आवासको अधिकार कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
उनीहरूले सरकारले विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्दै संविधान र कानुनबमोजिम दिगो, न्यायपूर्ण, उचित र मानवीय समाधान तत्काल लागू गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले पुनर्स्थापना गर्नैपर्ने अवस्था आएमा घर भत्काइएको स्थानमै वा कानुनबमोजिम उपयुक्त स्थानमा भू–स्वामित्वसहित स्थायी व्यवस्थापनको व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन्।
माइतीघरमा आयोजित प्रदर्शनका क्रममा सहभागीहरूले ‘बोल्न दे’, ‘मानव अधिकारको प्रत्याभूति गर’, ‘गास, बास र कपास सुनिश्चित गर’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।




















