काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका छन्।
घटनामा घाइते भएका युवकको पहिचान मुगुका २५ वर्षीय गणेश नेपालीका रूपमा भएको छ। उनी हाल वीर अस्पतालमा उपचाररत रहेका छन्। चिकित्सकका अनुसार उनको शरीर करिब ६५ प्रतिशत जलेको छ।
प्रहरीका अनुसार गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिक आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए। जथाभावी पार्किङ गरेको भन्दै काठमाडौं महानगरपालिकाको नगरप्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएको थियो।
त्यसपछि उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले घटनाको अन्य कारणबारे पनि अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।




















