काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै जिल्ला सदरमुकाम तथा स्थानीय तहका केन्द्र जोड्ने सडकलाई आगामी तीन वर्षभित्र डबल लेनमा स्तरोन्नति गर्ने लक्ष्य सरकारले लिएको बताएका छन्।
राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त योजनाका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको र चालु आर्थिक वर्षदेखि नै काम अघि बढाइने जानकारी दिए।
उनका अनुसार यसै आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सबै जिल्ला सदरमुकाम र स्थानीय तहका केन्द्र जोड्ने सडकको ठेक्का प्रक्रिया सुरु गरिनेछ। कर्णालीका सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका पालिकाहरूमा पनि यही वर्षदेखि स्तरोन्नति तथा सुधारको काम थालिने उनले बताए।
मन्त्री लम्सालले कर्णालीका साँघुरा र जोखिमपूर्ण सडकका कारण हुने सवारी दुर्घटना तथा मानवीय क्षति न्यूनीकरण गर्न दीर्घकालीन योजना अन्तर्गत सडकलाई फराकिलो र सुरक्षित बनाउने अभियान अघि बढाइएको उल्लेख गरे।
उनले सडक पूर्वाधारको विस्तार र स्तरोन्नतिले कर्णालीको यातायात पहुँच, आर्थिक गतिविधि र समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।




















