काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ भने सार्वजनिक सूचना पनि निकालेको छ ।
विभागका अधिकारीहरू सोमबार बुढानीलकण्ठस्थित जयवीर देउवाको ठेगानामा पुगेर उपस्थित हुनुपर्ने सूचना टाँस गरेका हुन् । उक्त पत्रमा जयवीरविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेकाले तोकिएको समयभित्र विभागमा उपस्थित भई बयान दिन आग्रह गरिएको उल्लेख छ।
यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पनि अनुसन्धानका क्रममा उपस्थित हुन पुर्जी जारी गरिसकेको थियो।
जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद तथा राहदानी (पासपोर्ट) खरिद प्रक्रियासम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत निकायमा उजुरी परेको छ। ती उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र सोही प्रक्रियाअन्तर्गत बयानका लागि बोलाइएको स्रोतले जनाएको छ।
यद्यपि, सम्बन्धित आरोपहरूबारे अन्तिम कानुनी निष्कर्ष भने आइसकेको छैन। अनुसन्धान प्रक्रिया जारी रहेको छ।






















