काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि नेतृत्व तहमा गम्भीर र इमान्दार संवादको आवश्यकता भएको बताएका छन् ।
सोमवार संस्थापन इतर पक्षको बैठकपछि सञ्चारकर्मीहरुसँग आफ्ना धारणा राख्दै नेता महतले बाहिर चर्चाका लागि मात्र नभई वास्तविक निष्कर्ष निकाल्ने उद्देश्यले वार्तामा बस्नुपर्नेमा जोड दिए । महतले अहिलेसम्मका वार्ता र छलफलहरू ठोस निष्कर्षमा पुग्न नसकेकोमा असन्तुष्टि व्यक्त गरे । उनका अनुसार बैठकमा सहमति खोज्ने तर बाहिर निस्किएपछि फरक ढङ्गले प्रस्तुत हुने प्रवृत्तिले एकता प्रक्रियामा अवरोध सिर्जना गरेको छ ।
पार्टी समायोजन र क्रियाशील सदस्यता अद्यावधिकका विषयमा देखिएका मतभेदबारे चर्चा गर्दै डा. महतले ती मुद्दाहरू संवादको माध्यमबाट हल गर्न सकिने दाबी गरे । उनले केवल प्रचारका लागि मात्र एकताको कुरा गरेर कुनै अर्थ नहुने भन्दै गम्भीर भएर वार्ताको टेबुलमा आउन र पार्टीलाई एकढिक्का बनाउन आग्रह गरे ।




















