काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। आइतबार राति काठमाडौं आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरेका थिए।
सोमबार र मंगलबार नेपालमा रहने कान्डाले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा अन्य उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। प्रधानमन्त्री शाहसँग उनको भेट मंगलबार हुने तय भएको छ।
प्रधानमन्त्री बनेपछि बालेन शाहले कुनै उच्चस्तरीय विदेशी पाहुनासँग गर्ने यो पहिलो औपचारिक भेट हुनेछ। एडीबी अध्यक्षलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार सरकार प्रमुखसरहको कूटनीतिक मर्यादा प्रदान गरिन्छ।
भ्रमणका क्रममा कान्डाले सोमबार दिउँसो अर्थमन्त्री वाग्लेसँग पनि भेट गर्नेछन्। साथै, एडीबीको सहयोगमा सञ्चालित विभिन्न विकास आयोजनाको स्थलगत अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ।
यसैबीच, नेपाल भ्रमणका क्रममा भन्सार तथा पारवहन र खानेपानी तथा ढल निकास क्षेत्रसँग सम्बन्धित दुई वटा सहयोग सम्झौतामा हस्ताक्षर हुने तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ।




















