काठमाडौं । थाइल्यान्डबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका एक भारतीय नागरिकलाई २ केजी ८०० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ।
विमानस्थलस्थित नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयले आइतबार बिहान लगेज जाँचका क्रममा चकलेटको प्याकेटभित्र लुकाएर ल्याइएको थाइल्यान्डको गाँजा बरामद गरेको हो। उक्त गाँजासहित भारतको पश्चिम बंगाल राज्यस्थित कोलकाताका ५७ वर्षीय हरि क्षेत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार क्षेत्री थाई एयरवेजको उडान नम्बर टीजी–३०९ मार्फत थाइल्यान्डको बैंककबाट नेपाल आएका थिए।
प्रारम्भिक अनुसन्धानबाट बरामद गाँजा थाइल्यान्डबाट नेपाल हुँदै भारतको कोलकाता लैजाने तयारी रहेको खुलेको ब्युरोले जनाएको छ।
प्रहरीले क्षेत्रीको साथबाट पासपोर्ट र मोबाइल फोनसमेत जफत गरेको छ। उनीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।




















