काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा आर्थिक हिनामिना गरेको आरोपमा सशस्त्र प्रहरीका एक इन्स्पेक्टरसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विद्यालयमा कार्यरत सशस्त्र प्रहरी इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा रहेका छन्। उनीहरूलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए।
‘दुवै जनालाई शनिबार पक्राउ गरेका हौँ। आज म्याद थप गरेर थप अनुसन्धान अघि बढाउँछौँ,’ एसपी भट्टराईले भने।
सशस्त्र प्रहरी बलको मुख्यालयले विद्यालयमा आर्थिक हिनामिना भएको भन्दै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो। त्यसपछि परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विद्यालयको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा जम्मा गरी करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। यस प्रकरणको मुख्य योजनाकार लेखा प्रमुख कल्पना गुरुङ रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।
यस विषयमा प्रारम्भिक छानबिन सशस्त्र प्रहरी मुख्यालयले नै गरेको थियो। छानबिनका क्रममा उनीहरू दोषी देखिएपछि थप अनुसन्धान र मुद्दा प्रक्रियाका लागि मुख्यालयले प्रहरीलाई पत्र पठाएको थियो।
मुख्य योजनाकार भनिएकी गुरुङ विगत छ वर्षदेखि उक्त विद्यालयमा लेखापालका रूपमा कार्यरत रहेको जनाइएको छ। यस प्रकरणमा सशस्त्र प्रहरीको कल्याण शाखामा कार्यरत महेन्द्र हमालमाथि पनि छानबिन अघि बढाइएको छ।




















