चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्ती ‘ध्रुवे’ को आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु भएको हो।
घटनाका क्रममा हात्ती धपाउन आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बालेका थिए। आगोको झिल्काले कच्ची घरमा आगलागी भए पनि प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
आमा–छोरामाथि आक्रमण गरेर भागेको ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको बताइएको छ। यस घटनासँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।
यसअघि २०७४ सालमा नेपाली सेनाका एक मेजरको ज्यान लिएपछि ध्रुवेले करिब नौ वर्षपछि फेरि दुई जनाको ज्यान लिएको हो। प्रायः निकुञ्जको सुखीभार क्षेत्रमा बसोबास गर्ने ध्रुवे यसपटक अचानक बस्तीमा प्रवेश गरेको बताइएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मानवीय क्षति पुर्याउने हात्तीका रूपमा परिचित ध्रुवेले २०६८–०६९ सालताका लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि २०६९ सालको पुस १ गते तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त हात्तीलाई मार्ने निर्णय गरेको थियो। विशेषगरी २०६९ सालको कात्तिकमा माडी क्षेत्रमा एक महिनाभित्र चार जनाको ज्यान लिएपछि यो निर्णय गरिएको थियो।
ध्रुवेलाई मार्न करिब १६ लाख रुपैयाँ खर्च गरिएको थियो। तर, सेनाको गोलीबाट जोगिँदै आएको ध्रुवे त्यसपछि करिब पाँच वर्षसम्म बेपत्ता बनेको थियो। पछि पुनः सुखीभार क्षेत्रमा देखिन थालेको थियो।
ध्रुवेको घाँटीमा पटक–पटक रेडियो कलर जडान गर्ने, दाह्रा काट्ने तथा डार्टमार्फत बेहोस बनाएर उत्तेजना कम गर्ने औषधि दिने प्रयाससमेत गरिएको थियो।
पछिल्लो समय शान्त देखिएको ध्रुवे केही महिनाअघि सौराहामा अर्को जंगली हात्ती ‘रोनाल्डो’सँग भिड्न पुगेको थियो। त्यसपछि भने ऊ सुखीभार क्षेत्रका पोथी हात्तीसँग देखिँदै आएको निकुञ्ज स्रोतले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो, गोविन्दे र ध्रुवेलगायत जंगली भाले हात्तीहरू रहेका छन्।




















