काठमाडौँ । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक गतिविधि गर्दै आएका दृष्टिविहीनहरूले शुक्रबार पनि काठमाडौँको माइतीघर मण्डलमा धर्ना जारी राखेका छन्। उनीहरू आन्दोलनमा उत्रिएको आज १२ दिन पुगेको छ।
दृष्टिविहीनहरूले सरकारले आफूहरूलाई व्यवसाय गर्न नदिएको आरोप लगाउँदै सम्मानजनक व्यवस्थापनको माग गरेका छन्। उनीहरूले योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
उनीहरूको भनाइमा, रोजगारीको उपयुक्त व्यवस्था गर्न नसकेसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशा निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्छ। साथै, सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।
दृष्टिविहीनहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्। उनीहरू हरेक दिन माइतीघर मण्डलमा पुगेर धर्ना र प्रदर्शन गर्दै आएका छन्।




















