काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन्।
प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार भक्तपुर निवासी आचार्यलाई उक्त पदमा नियुक्त गरेका हुन्। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस नोटअनुसार पार्टी विधानको धारा ३६ (घ) बमोजिम साउन १ गतेदेखि लागू हुने गरी आचार्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको हो।
डा. आचार्य यसअघि पनि कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। तत्कालीन उपसभापति तथा प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले उनलाई सो पदमा नियुक्त गरेका थिए। त्यस्तै, उपसभापति विश्वप्रकाश शर्मा पार्टीको प्रचार विभाग प्रमुख रहँदा आचार्य विभागको उपप्रमुखको भूमिकामा थिए।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन । कांग्रेस–एमाले गठबन्धन सरकारले उनलाई राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गरेको थियो। तर, रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू खारेज गर्ने निर्णय गरेपछि उनी राष्ट्रिय सूचना आयोगबाट बाहिरिएका थिए।




















