काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गरी सिफ्ट प्रणाली लागू गर्ने तयारी गरेकी छन् ।
निगममा ओभरटाइमका नाममा हुने करोडौँ रुपैयाँको खर्च तथा सम्भावित अनियमितता नियन्त्रण गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ।
नेपाल आयल निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत ‘सेवा सुविधा’ शीर्षकमा रहेको अतिरिक्त कार्यभत्तासम्बन्धी व्यवस्थालाई पुनर्संरचना गर्दै कर्मचारीलाई कार्यप्रकृतिअनुसार विभिन्न सिफ्टमा परिचालन गर्ने गृहकार्य अघि बढाइएको छ।
उपलब्ध तथ्याङ्कअनुसार निगममा ओभरटाइम भत्ताका नाममा गत आर्थिक वर्ष मात्रै करिब १३ करोड रुपैयाँ खर्च भएको थियो। मन्त्री यादवले यस्तो खर्चले संस्थामा अनावश्यक आर्थिक भार थप्नुका साथै वित्तीय अनुशासनमा समेत असर पुर्याएको भन्दै सुधारको आवश्यकता औँल्याएकी छन्।
नयाँ व्यवस्था लागू भएपछि अतिरिक्त भत्ता दिने अभ्यासलाई क्रमशः प्रतिस्थापन गर्दै कर्मचारीलाई सिफ्ट प्रणालीका आधारमा काममा परिचालन गरिनेछ। यसबाट निगमको प्रशासनिक खर्चमा उल्लेख्य बचत हुनुका साथै संस्थाभित्र वित्तीय अनुशासन र कार्यक्षमता अभिवृद्धि हुने विश्वास सरकारले लिएको छ।




















