दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, साङ्गेताडास्थित कर्णाली नदीमा माइक्रोबस खस्दा बेपत्ता यात्रुको खोजीकार्य जारी रहेको छ। उद्धारका क्रममा भीरमा अड्किएको एक पुरुषको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई कर्णाली नदीमा खसेर दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्तडाबाट सुरक्षा टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार माइक्रोबसमा १४ जना यात्रु सवार थिए। बेपत्ता यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।




















