काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अमेरिका पठाउन लागिएको ठूलो परिमाणका सुनचाँदीका गरगहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीय यज्ञराज सुवेदी र ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन्।
प्रहरीका अनुसार विमानस्थलको कार्गो कम्प्लेक्समा जाँचका क्रममा शंकास्पद अवस्थामा ती गहना फेला परेका हुन्। एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउन लागिएको ‘मेनिफेस्ट नं. AMS AP 321’ भएको कार्गो बाकसमा जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा राखिएको थियो। सुवेदी युनिक कार्गोका सञ्चालक र दाहाल एपेक्स लजिस्टिक प्रालिका सञ्चालक हुन्।
एक्स–रे मेसिनबाट जाँच गर्दा बाकसभित्र घोषणा गरिएभन्दा फरक सामग्री रहेको देखिएपछि थप परीक्षण गर्दा सुनचाँदीका विभिन्न गरगहना फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सुनका गहनामा नौगेडी, चन्द्रमा, जन्तर, सिंगल तथा डबल ब्रोच, शिरफूल, नेपालको झण्डा अङ्कित ब्रोच, खुकुरी आकारको ब्रोच, मङ्गलसूत्र, मोतीमाला, रानीहार र त्रिशूल रहेका छन्।
त्यस्तै, चाँदीका गोलो र चारपाटे नेकलेस, काँडावाला चुरा, यार्लिङसहितको शिरबन्दी सेट, झुम्का, तिलहरी र सिक्री पनि बरामद गरिएको छ।
पक्राउ परेका दुवै व्यक्ति र बरामद गरगहना आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको एसपी सिलवालले जानकारी दिए।




















