काठमाडौँ । अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।
पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्नेसमेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ ।
आयोगले चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरिस कन्स्ट्रक्सन मध्यपुर ठिमी ६ भक्तपुर र सो कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध रु १८ लाख ५० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोजना सञ्चालनमा क्रममा राखिएको बैंक ग्यारेन्टी वापतको कार्यसम्पादन जमानतको रकम आपसी मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।



















