तनहुँ । तनहुँको आबुखैरेनीमा त्रिशूली नदीमा हामफालेर आत्महत्या गर्ने तयारीमा रहेका एक युवकलाई प्रहरीले उद्धार गरेको छ।
दाङको राजपुर गाउँपालिका–१ घर भएका ३२ वर्षीय दीपक घर्ती मगरले आबुखैरेनी–४, मुग्लिङस्थित पुरानो पुलको लठ्ठामा उक्लिँदै गर्दा इलाका प्रहरी कार्यालय आबुखैरेनीको टोलीले उद्धार गरेको हो।
उद्धारपछि घर्ती मगरले पारिवारिक समस्याका कारण आफू मर्न हिँडेको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार उद्धार गरिएका घर्ती मगरलाई थप परामर्श तथा आवश्यक प्रक्रिया लागि प्रहरीको संरक्षणमा राखिएको छ। उनी आबुखैरेनी क्षेत्रमा निर्माण मजदुरी गर्दै आएका थिए।




















