काठमाडौं । जर्मन दूतावासले राहदानी (पासपोर्ट) खरिद प्रकरणका सम्भावित परिणाम वा कारबाहीबारे नेपाललाई कुनै चेतावनी नदिएको स्पष्ट पारेको छ।
नेपालसँग सम्बन्धित राहदानी खरिद प्रकरणबारे सार्वजनिक भएका केही विवरण भ्रामक रहेको जनाउँदै काठमाडौंस्थित जर्मन दूतावासले बुधबार तीनबुँदे स्पष्टीकरण जारी गरेको हो।
दूतावासका अनुसार बर्लिनस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको थियो, स्पष्टीकरण माग्न बोलाइएको होइन। कूटनीतिक अभ्यासमा ‘छलफलका लागि आमन्त्रण’ र ‘स्पष्टीकरणका लागि बोलावट’ बीच महत्वपूर्ण भिन्नता रहेको जर्मनीले उल्लेख गरेको छ।
स्पष्टीकरणमा उक्त भेटका क्रममा नेपाल पक्षलाई कुनै विरोधपत्र (डिमार्स) वा अन्य आधिकारिक दस्तावेज हस्तान्तरण नगरिएको पनि जनाइएको छ।
यस्तै, जर्मनीले अदालतमा विचाराधीन मुद्दालाई आधार बनाएर नेपाललाई कुनै सम्भावित परिणाम वा कारबाहीबारे चेतावनी नदिएको स्पष्ट पारेको छ।
जर्मन दूतावासले आफ्नो संविधानले न्यायपालिकाको स्वतन्त्रतालाई सुनिश्चित गरेको उल्लेख गर्दै न्यायिक प्रक्रियाप्रति पूर्ण सम्मान व्यक्त गरेको छ। साथै, विचाराधीन अदालतका मुद्दाबारे टिप्पणी नगर्ने आफ्नो नीतिअनुरूप यस प्रकरणमा पनि कुनै टिप्पणी नगरेको दूतावासले जनाएको छ।




















