काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नेपाल र बेलायतबीचको आवतजावतसम्बन्धी प्रमाणित अभिलेख पेस गर्न अध्यागमन विभागका नाममा आदेश जारी गरेको छ।
महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले सन् २०१५ देखि २०२४ सम्मको नेपाल–बेलायत आवतजावत र बसाइसम्बन्धी सम्पूर्ण विवरण झिकाउन आदेश दिएको हो।
सर्वोच्चले कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गर्ने सम्बन्धमा २२ चैत २०८२ मा प्रधानमन्त्रीबाट भएको निर्णयसमेत पेस गर्न आदेश दिएको छ।
सर्वोच्च अदालतको न्यायाधीश सरहको योग्यता आवश्यक पर्ने महान्यायाधिवक्ताको पदका लागि कँडेलको योग्यता नपुग्ने दाबी गर्दै अधिवक्ताहरू माधवकुमार बस्नेत, शिराज बराल र दीपकराज जोशीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सम्बन्धित निर्णय तथा आवतजावतको विवरण पेस गर्न आदेश दिएको हो।




















