काठमाडौं । पूर्वउपप्रधानमन्त्री, पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अवधि थप गर्न विशेष अदालतमा उपस्थित गराइएको छ।
सम्पत्ति शुद्धीकरण विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरी पौडेललाई काठमाडौं ल्याएको थियो। विभागले उनीमाथि अनुसन्धानका लागि यसअघि २० दिन थुनामा राख्न अनुमति मागेको थियो।
विशेष अदालतले असार ९ गते पौडेललाई अनुसन्धानका लागि सात दिन थुनामा राख्न अनुमति दिएको थियो। सो म्याद सकिन लागेपछि थप अनुसन्धानका लागि पुनः म्याद थपको प्रक्रिया अघि बढाइएको हो।
यता, पौडेलकी पत्नी दोमाया पौडेलले आफ्ना पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन्। उक्त रिटमाथि भोलि दोस्रो सुनुवाइ हुने तय भएको छ।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सम्बन्धित निकायका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।




















