काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई एक हुन नदिन नेपाली कांग्रेसलाई विभाजित गरिएको दाबी गरेका छन्। उनले यस्तै प्रयास अब नेकपा एमालेमाथि पनि हुन सक्ने भन्दै पार्टी सचेत र एकताबद्ध रहेको बताए।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य कमजोर पार्ने र देशलाई प्रतिक्रान्तिको दिशामा धकेल्ने उद्देश्यले विभिन्न गतिविधि भइरहेको आरोप लगाए।
उनले भने, “लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिनका लागि नेपाली कांग्रेस कसरी फुट्यो, कसले फुटायो, किन फुटायो र त्यसको परिणाम के भयो भन्ने सबैले देखेकै छन्। कांग्रेस त फुट्यो, अरूलाई पनि फुटाउने कोसिस हुन सक्छ।”
ओलीले बाह्य हस्तक्षेप वा दबाबमार्फत एमालेभित्र विभाजन ल्याउने प्रयास भए पनि पार्टी त्यस्ता गतिविधिप्रति सजग रहेको बताए।
उनले भने, “बाहिरबाट हात हाल्न खोजिए भने त्यस्ता गतिविधिलाई हामी चिन्छौँ र पराजित गर्छौँ। नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहनेछ। यो सुदृढ छ र अझ सुदृढ हुँदै जानेछ।”
अध्यक्ष ओलीले नेकपा एमाले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तबाट निर्देशित र समाजवाद निर्माणको लक्ष्य बोकेको पार्टी भएकाले आफ्ना नीति, विचार र संगठनात्मक एकताप्रति पूर्ण रूपमा सचेत रहेको पनि बताए।




















