काठमाडौं । पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले नेपालको सामाजिक, सांस्कृतिक र जातीय विविधतालाई दृष्टिगत गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नहुने बताएकी छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले संविधान संशोधनको सन्दर्भमा बेलाबेला उठ्ने प्रत्यक्ष कार्यकारी प्रणालीको प्रस्तावप्रति आफ्नो असहमति व्यक्त गरेकी हुन्।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यस्तो संरचनामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली सान्दर्भिक नहुने धारणा राखिन्।
भण्डारीले भनिन्, “संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रोजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ।”
उनले लोकतन्त्र केवल आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्ने प्रक्रियामा मात्र सीमित नरहेको उल्लेख गर्दै निर्वाचित भएपछि पनि संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वप्रति प्रतिबद्ध रहनु नै सच्चा लोकतान्त्रिक आचरण भएको बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनका लागि संवैधानिक संस्थाहरूको सम्मान, कानुनी शासनको पालना र जनताप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्नेमा पनि जोड दिइन्।



















