स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा मिर्दी–चापाकोट सडकखण्डमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५ नम्बरको जिप चालकले नियन्त्रण गुमाउँदा सडक छेउमा पल्टिएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। जिपमा चालकसहित १९ जना सवार रहेका थिए।
दुर्घटनामा घाइते भएका वालिङ नगरपालिका–७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा वालिङ–७ की ४६ वर्षीया रूपकला सारू, रुपन्देहीको गैडहवा–४ की ५५ वर्षीया सुमित्रा गुरुङ र नवलपरासी (पूर्व) कावासोती नगरपालिका–५ की ४१ वर्षीया मायादेवी सुनारी गम्भीर घाइते भएका छन्।
यस्तै, मायादेवी सुनारीकी १२ वर्षीया छोरी कर्मिसा सुनारी, वालिङ–७ की जैकला सारू, पोखरा महानगरपालिका–९ की रुक्सना थापा, देवदह नगरपालिका–५ की कमला थापा, बिरुवा गाउँपालिका–६ का टोपबहादुर थापा, वालिङ–७ की गौमाया सारू, बेलबहादुर आले, कुमार सारू र ज्ञानुमाया सारूसहित अन्य यात्रु घाइते भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अन्य पाँच जना सामान्य घाइते भएका छन्। सामान्य घाइतेमध्ये जिप चालक २८ वर्षीय मिनबहादुर सारू पनि रहेका छन्। उनलाई सामान्य चोट लागेको र हाल प्रहरीको नियन्त्रणमा राखिएको छ।
दुर्घटनापछि सबै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका लागि लगिएको थियो। त्यसमध्ये गम्भीर र मध्यम अवस्थाका १२ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



















