काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पदाधिकारी चयनका लागि सहमतिको प्रयास सफल हुन नसकेपछि पाँच पदका लागि मतदान सुरु भएको छ।
सभापति रवि लामिछानेले पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास जारी राखे पनि उम्मेदवारहरूले चुनावबाटै अघि बढ्ने अडान लिएपछि मतदान प्रक्रिया अपनाइएको हो।
चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित हलमा शुक्रबार मतदान सुरु भएको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधिहरूले विद्युतीय मतदान मेसिनमार्फत मताधिकार प्रयोग गरिरहेका छन्। पाँच पदका लागि कुल २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचनमार्फत एक महिला उपसभापति, एक महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री चयन गरिनेछ। रास्वपाको विधानअनुसार पदाधिकारीहरू केन्द्रीय सदस्यबाटै चयन हुने व्यवस्था छ। बिहीबार राति मात्रै ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
महिला उपसभापति पदका लागि सोविता गौतम र तोषिमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। महामन्त्री पदमा विपिन आचार्य, मनीष झा, सागर ढकाल र गणेश कार्की उम्मेदवार छन्। यसअघि उम्मेदवारी दिएका अन्य ६ जनाले आफ्नो दाबी फिर्ता लिएका थिए।
खुला सहमहामन्त्रीका दुई पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असीम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्त चुनावी प्रतिस्पर्धामा छन्।
त्यस्तै, महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।
सभापति रवि लामिछानेले महामन्त्री पदका उम्मेदवार विपिन आचार्यलाई समर्थन गरेका छन्। उनलाई समर्थन गर्दै कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, जगदीश खरेल, प्रमोद न्यौपाने र रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले पनि विपिनलाई समर्थन जनाएका छन्। खनालले स्वयं उम्मेदवारी भने दिएका थिएनन्। शुक्रबार चितवनमा बुर्लाकोटी, पराजुली, खनाल, खरेल र न्यौपानेले संयुक्त पत्रकार सम्मेलन गरी विपिनलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका थिए। त्यसपछि रञ्जु दर्शनाले पनि छुट्टै पत्रकार सम्मेलनमार्फत विपिनलाई समर्थन गर्ने घोषणा गरेकी थिइन्।
पदाधिकारीका लागि उम्मेदवारी दर्ता भइसके पनि सभापति लामिछानेले अन्तिम समयसम्म सर्वसम्मत चयनको प्रयास जारी राखेका थिए।




















