काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणामअनुसार वाग्लेले कुल २ हजार ६५६ मत प्राप्त गरेका हुन् । उनले सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गरेकाे निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनको क्रममा प्रवास समितिबाट खसेको सम्पूर्ण मतसमेत वाग्लेकै पक्षमा परेको बताइएको छ। प्रवासतर्फका ४९ प्रतिनिधिले मतदान गरेका थिए र वाग्लेले ती सबै मत प्राप्त गरेका थिए ।
भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न केन्द्रीय सदस्य पदको निर्वाचनको अन्तिम मतपरिणाम क्रमशः सार्वजनिक भइरहेको छ। निर्वाचन आयोगले मतगणनाको अन्तिम चरणमा रहेकाले अन्य उम्मेदवारहरूको विस्तृत परिणाम पनि सार्वजनिक गरिरहेको जनाएको छ।
केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएसँगै अब पार्टी पदाधिकारी चयनको प्रक्रिया अघि बढ्नेछ। रास्वपाले संशोधित कार्यतालिकाअनुसार पदाधिकारी पदका लागि निर्वाचन कार्यक्रम सञ्चालन गरिरहेको छ।




















