काठमाडौं । काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजामा गढबढ भएको भन्दै विद्यार्थीहरूले विरोध जनाइरहेका बेला सरकारले छानबिनका लागि समिति गठन गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ का विद्यार्थीहरूको उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षांक तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको जानकारी दिएका छन्। मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको उनले बताए।
कक्षा १२ को नतिजा हतारमा प्रकाशित गर्दा त्रुटि भएको दाबी गर्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरिरहेका छन्। यसैक्रममा उनीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए।
प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूले गरेका थिए ।
प्रदर्शनमा सहभागीहरुले ‘१२ वर्षको मेहनत खेरको जिम्मेवार को ? जवाफ दे, हाम्रो भविष्य बर्बाद भयो, न्याय खोज्न कहाँ जाउँ ?,मन्त्रीहरूको अहंकारको मूल्य विद्यार्थीहरूले किन चुकाउनुपर्छ ?’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरूको गुनासोप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतार नगरेको दाबी गरेका छन्।
‘नतिजा समयमै सार्वजनिक गर्न कुनै हतार गरिएको होइन। आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर निर्धारित समयमै नतिजा प्रकाशित गरिएको हो,’ मन्त्री पोखरेलले बताएका छन्।
उनले आन्दोलनरत विद्यार्थीप्रति सामाजिक सञ्जालमा अपमानजनक र असम्मानजनक टिप्पणी नगर्न पनि सबैलाई आग्रह गरेका छन्।
‘शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा अपमानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु,’ उनले भनेका छन्।
यसैवीच विभिन्न ११ विद्यार्थी संगठनहरूले छिटो नतिजा सार्वजनिक गर्ने नाममा विद्यार्थीको मेहनत र जीवनमाथि खेलवाड गरिएको भन्दै आपत्ति प्रकट गरेका छन्। बिहीबार संयुक्त प्रेस वक्तव्य प्रकाशित गरी विद्यार्थी संगठनहरूले कक्षा १२ को परीक्षाफलमा देखिएका त्रुटिप्रति सम्बन्धित निकायलाई सचेत गराएका हुन्।
‘हालै कक्षा १२ को परीक्षाफलमा देखिएका त्रुटिहरू तथा केही समयअघि एसईईको नतिजामा व्याप्त कमजोरीहरू सार्वजनिक भएका छन्। परीक्षाफल समयमै प्रकाशन गर्ने शिक्षा मन्त्रालयको प्रयासलाई हामी सकारात्मक रूपमा लिन्छौँ’ विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘तर, छिटो नतिजा प्रकाशन गर्ने नाममा गरिएका लापरबाही र गम्भीर त्रुटीले विद्यार्थीको मेहनत र जीवनमाथि खेलबाड गर्ने विषयलाई कुनै पनि अर्थमा सहि मान्न सकिँदैन।’





















