काठमाडौं । काठमाडौंका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी पुनर्स्थापनाको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाइए पुरानै बसोबास स्थलमा फर्केर बस्ने चेतावनी दिएका छन्।
कीर्तिपुरस्थित राधास्वामी सत्संगमा बसिरहेका सुकुम्वासीहरूले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूलाई अस्थायी रूपमा राखिएको दुई महिना बितिसक्दा पनि सरकारले स्थायी बसोबासको कुनै विकल्प उपलब्ध नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
सरकारले काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउने अभियानअन्तर्गत गत वैशाख १२ गतेदेखि उनीहरूलाई स्थानान्तरण गर्न सुरु गरेको थियो। त्यसबेला १५ दिनका लागि अस्थायी सेल्टरमा राखिने र ६० दिनभित्र स्थायी बसोबासको व्यवस्था गरिने आश्वासन दिइएको थियो।
तर, निर्धारित समय बितिसक्दा पनि पुनर्स्थापनाको ठोस पहल नभएको उनीहरूको गुनासो छ। उल्टै जिल्ला प्रशासन कार्यालय काठमाडौंले असार ९ गते सूचना जारी गर्दै असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ। सूचनामा प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराएर त्यसपछि बसोबासको व्यवस्था आफैँ गर्न भनिएको छ।
यसप्रति आपत्ति जनाउँदै सुकुम्वासीहरूले पाँच बुँदे माग अघि सारेका छन्। उनीहरूले सुकुम्वासी परिवारको लगत संकलन र प्रमाणीकरण गर्न, जबर्जस्ती विस्थापित परिवारलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न, स्थायी व्यवस्था नहुँदासम्म पर्याप्त सेवा–सुविधासहित होल्डिङ सेन्टरमै बस्ने व्यवस्था गर्न तथा उचित पुनर्स्थापनाको सुनिश्चितता गर्न माग गरेका छन्।
साथै, आफ्ना माग सम्बोधन नगरी विकल्पविना होल्डिङ सेन्टरबाट हटाउने प्रयास गरिए पुरानै बसोबास स्थलमा फर्केर बस्न बाध्य हुने चेतावनी पनि उनीहरूले दिएका छन्।





















