काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३० प्रतिशतले घटिसक्दा पनि नेपालमा उपभोक्ताले पुरानै महँगो दरमा इन्धन खरिद गर्न बाध्य भएको भन्दै सरकार र नेपाल आयल निगमप्रति प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम बिन्दुबाट उल्लेख्य रूपमा घटिसकेको भए पनि त्यसको प्रत्यक्ष लाभ नेपाली उपभोक्ताले नपाएको बताएका छन्।
‘यति ठूलो मात्रामा मूल्य घटिसक्दा पनि नेपाली उपभोक्ताले पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु दुःखद् छ,’ उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष राहत आमनागरिकले सहजै पाउनुपर्ने होइन र ?’
मूल्य नघटेको विषयमा नेपाल आयल निगमले ‘हामी कच्चा होइन, प्रशोधित तेल खरिद गर्छौं, त्यसैले तुरुन्तै मूल्य समायोजन सम्भव हुँदैन’ भन्ने तर्क प्रस्तुत गर्दै आएको उल्लेख गर्दै पौडेलले त्यसलाई पर्याप्त आधार मान्न नसकिने बताएका छन्।
उनले कच्चा र प्रशोधित तेलको मूल्यबीच प्रशोधन खर्च तथा केही समयको अन्तर रहने स्वीकार गरे पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि स्वाभाविक रूपमा घट्ने तर्क गरेका छन्।
मूल्य घटिरहेको वास्तविक अवस्थाबारे उपभोक्तालाई स्पष्ट जानकारी नदिई पुरानै प्राविधिक बहाना देखाएर मूल्य समायोजन नगर्नु सुशासन, पारदर्शिता र व्यवस्थापकीय क्षमतामाथिको प्रश्न भएको पौडेलको भनाइ छ।
‘यसले सरकार र आयल निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको छ,’ उनले लेखेका छन्।
पौडेलले प्रत्येक १५ दिनमा आउने नयाँ मूल्यसूचीअनुसार स्वचालित मूल्य प्रणाली प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिएका छन्। मूल्य बढ्दा तत्काल लागू हुने तर घट्दा कार्यान्वयनमा नआउने प्रवृत्तिले उपभोक्तामाथि अन्याय भएको उनको भनाइ छ।
‘घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिने, तर मूल्य सस्तो हुँदा राहत नपाउने ?’ भन्दै उनले सरकार र आयल निगमसँग जवाफ माग गरेका छन्।




















