धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको गोरङ्गे ब्यारेकमा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक जवान गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ब्यारेकभित्र नियमित सैन्य तालिमका क्रममा अचानक ग्रिनेड विस्फोट भएको हो। विस्फोटमा परी घाइते भएका दुवै सैनिकलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो।
अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ। थप उपचारका लागि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको सैनिक स्रोतले जनाएको छ।
ग्रिनेड विस्फोटको कारण र घाइते सैनिकहरूको परिचयबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे नेपाली सेना र सुरक्षा निकायले थप अनुसन्धान अघि बढाएका छन्।




















