काठमाडौं । अशोककुमार राई नेतृत्वको समूहले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। सोमबार आयोगमा ‘समाजवादी पार्टी’ नामको दल दर्ताका लागि निवेदन पेश गरिएको हो।
पार्टीको अध्यक्षमा अशोककुमार राई रहेका छन् भने उपाध्यक्षमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दानबहादुर विश्वकर्मा छन्। उपमहासचिवमा शरणकुमार राई तथा सचिवमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भीमबहादुर तामाङ रहेका छन्।
राईले आठ पदाधिकारीसहित २८ सदस्यीय केन्द्रीय समितिको नामावलीसहित दल दर्ताका लागि निवेदन दिएको जनाइएको छ।
यसअघि अशोक राई समूहले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट अलग भई जनता समाजवादी पार्टी गठन गरेको थियो। उक्त विभाजनविरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सर्वोच्च अदालतको फैसलाअनुसार अशोक राई नेतृत्वको जसपाले कानुनी मान्यता नपाएपछि उक्त समूह पार्टीविहीन बनेको थियो।
त्यसपछि राई पक्षले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएको हो। अध्यक्ष राईले आफूहरू राजनीतिक र सांगठनिक रूपमा प्रतिबद्ध तथा संगठित रहेको उल्लेख गर्दै सर्वोच्च अदालतको फैलापछि उत्पन्न कानुनी जटिलताका कारण नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको बताए।
नवगठित पार्टीका सचिव मनिकर कार्कीका अनुसार नेपाली विशेषताअनुरूपको समाजवादलाई राजनीतिक ध्येय बनाएको समाजवादी पार्टीले समावेशी लोकतन्त्र, सामाजिक न्यायसहितको संघीयता, सुशासन र समृद्धिलाई आफ्नो कार्यदिशा बनाउनेछ।
उनले निर्वाचन आयोगबाट औपचारिक मान्यता प्राप्त भएपछि संगठन विस्तार तथा पार्टी निर्माणलाई देशव्यापी अभियानका रूपमा अघि बढाइने पनि बताए।




















