काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ।
सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई बाँके हुँदै स्थलमार्गबाट मंगलबार मध्यान्ह ललितपुरको पुल्चोकस्थित विभागको कार्यालयमा ल्याइएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि उनलाई विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। विभागका सूचना अधिकारी उत्तमकुमार घिमिरेका अनुसार प्रारम्भिक प्रक्रिया पूरा भएपछि विशेष सरकारी वकिल कार्यालय, माइतीघरमार्फत विशेष अदालतमा उपस्थित गराइनेछ।
‘त्यसपछि म्याद थपको प्रक्रियाका लागि विशेष सरकारी वकिल कार्यालय हुँदै विशेष अदालतमा पेश गरिनेछ,’ घिमिरेले भने।
विभागले पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा थप अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ। सोमबार सुर्खेतबाट नियन्त्रणमा लिनुअघि विभागको टोलीले ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा समेत छापा मारेको थियो।




















