काठमाडौं । निर्वाचन आयोगले तीन जनाप्रतिनिधिको पदमुक्त गरेको छ । आयोगको निर्णयअनुसार जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा पदमुक्त भएका छन्। नेपाली कांग्रेसबाट निर्वाचित बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेपछि निर्वाचन आयोगले उनको पद रिक्त भएको सूचना जारी गरेको हो।
आयोगले सार्वजनिक गरेको सूचनाअनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएका छन्। अन्सारी र ढकाल दुवै नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधि हुन्।
गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए। उनी हालै रास्वपामा प्रवेश गरेका थिए।
निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरूको पद रिक्त भएको जनाएको छ। उक्त कानुनी व्यवस्थाअनुसार कुनै निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलको सदस्यता लिएमा वा अर्को दल गठन गरेमा उसको पद स्वतः रिक्त हुने व्यवस्था छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको निर्णयसहित निर्वाचन आयोगलाई जानकारी गराएको थियो। सोही आधारमा आयोगको असार ८ गते बसेको बैठकले दानबहादुर बुढा, फातिमा खातुन अन्सारी र विष्णु ढकालको पद रिक्त गर्ने निर्णय गरेको हो।





















