काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कांग्रेस सरकारको विरोधका लागि मात्र प्रतिपक्षमा नरहेको भन्दै परिणाममुखी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार इलाम नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै आङदेम्बेले संसदभित्र प्रतिपक्षले उठाउने विषय जनताको आवाज भएको उल्लेख गर्दै सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गरिरहेको बताए।
देशभरका किसान विभिन्न समस्याबाट प्रभावित भइरहेका बेला राज्यले आवश्यक संवेदनशीलता नदेखाएको उनको टिप्पणी थियो। ‘देशमा जसरी किसानहरू प्रताडित भइरहेका छन्, यसले अर्थतन्त्रलाई गम्भीर मोडमा पुर्याइरहेको छ। त्यसप्रति राज्य अझै संवेदनशील भएको अनुभूति हुन सकेको छैन,’ उनले भने।
उनले ठूलो जनमतबाट बनेको सरकारलाई जनताप्रति उत्तरदायी बनाउने जिम्मेवारी प्रतिपक्षको पनि भएको उल्लेख गरे। ‘संसदभित्र प्रतिपक्षको आवाज भनेको जनताको आवाज हो। सरकारलाई जनतासँग गरेका प्रतिबद्धतामा खरो उत्रिन सचेत गराउने काम प्रतिपक्षको हो, र हामीले त्यो भूमिका निरन्तर निभाइरहेका छौँ,’ उनले भने।
आङदेम्बेले देशभर सरकारप्रति असन्तुष्टि बढ्दै गएको दाबी गर्दै केवल दल परिवर्तनले मात्र समस्या समाधान नहुने निष्कर्षमा जनता पुग्न थालेको बताए। विगतमा राजनीतिक दलहरूले जनमतको सम्मान गर्न नसक्दा नागरिक नयाँ शक्तितर्फ आकर्षित भएको उनको भनाइ थियो।
‘जनताले दिएको अभिमतको सम्मान गर्न नसक्दा नै आक्रोश र निराशा नयाँ दलतर्फ गएको हो,’ उनले भने।
कांग्रेस सरकारको विरोधका लागि मात्र विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले संसदमा आफूले राखेका धारणा र कांग्रेस सभापति गगन थापाले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा दिएको सन्देश एउटै रहेको बताए।
‘अहिलेको प्रतिपक्ष विरोधका निम्ति विरोध गर्न आएको होइन, परिणामका निम्ति साथ दिन आएको हो,’ आङदेम्बेले भने, ‘कांग्रेस परिणाम हासिल गर्न सरकारलाई विरोधीका रूपमा होइन, आवश्यक पर्दा सहयोगीका रूपमा साथ दिन तयार छ।’




















