काठमाडौं । सडकपेटीमा आश्रित दृष्टिविहीन व्यवसायीहरूले आफूहरूमाथि बलपूर्वक हटाउने र धरपक्कड गर्ने कार्य भएको भन्दै सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। ‘गरिखान देऊ’ भन्ने नारासहित उनीहरूले सरकारले वैकल्पिक व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक स्थानमा बसेर जीविकोपार्जन गर्ने अवसरसमेत खोसिएको आरोप लगाए। नगर प्रहरीले धरपक्कड गर्ने, जबर्जस्ती हटाउने तथा होल्डिङ सेन्टरमा लगेर दिनभर राखेर साँझ छाड्ने गरेको उनको गुनासो छ।
‘हामी धुप बेच्थ्यौँ, कसैले तौल नाप्ने मेसिन राखेर काम गर्थ्यौँ, कतिले गीत गाएर सहयोग उठाएर जीविका चलाइरहेका थियौँ। तर अहिले त्यो पनि गर्न नदिइएको छ,’ उनले भने।
उनका अनुसार आफूहरूलाई रोजगारीको वैकल्पिक व्यवस्था नगरी सडकबाट हटाइएकाले आन्दोलनमा उत्रिन बाध्य भएको हो। नगर प्रहरीले हातपातसमेत गरेको आरोप लगाउँदै उनले त्यसको विरोधमा आन्दोलन सुरु गरिएको बताए।
दृष्टिविहीन व्यवसायीहरूले राज्यले आफूहरूलाई रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने वा मासिक २० हजार रुपैयाँका दरले बेरोजगार भत्ता व्यवस्था गर्नुपर्ने माग गरेका छन्। साथै, योग्यता र क्षमताअनुसार कामको व्यवस्था गर्नसमेत उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्था नभएसम्म दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म माइतीघर मण्डलमा विरोध प्रदर्शन जारी राख्ने बताएका छन्।




















